धार्मिक पर्यटनको केन्द्र बन्दै धादिङको भैरवी मन्दिर

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2024-12-10 03:23:44 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 107


धार्मिक पर्यटनको केन्द्र बन्दै धादिङको भैरवी मन्दिर

नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ  । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ ।


“राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ ”, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने, “पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बासबसी भाकल गर्नुभएको र त्यसपछि विजय भएको किम्वदन्ती छ ।” 


पूजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना दुई पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए । जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक वर्ष छ हजार सात सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउने गरेको छ ।भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ  संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए । “भूकम्पले जीर्ण मन्दिर पुनःनिर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँबाट चारैतिर हिमशृङ्खला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्”, उनले भने ।  

यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पूजारी भगवान राना मगरले जानकारी दिए । जिल्लाका विभिन्न सङ्घ संस्थाले भैरवी मन्दिर सम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचारप्रसार भएको छ । नीलकण्ठ नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचारप्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताए ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com