किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

व्यापार फलफुल

Posted by boudhasancharadmin on 2024-12-02 05:04:44 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 146


किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । सुरुका वर्षमा प्रति केजी रु. चार सयसम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।

किबीका बेर्नासमेत उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष मात्र रु. १४ लाखको बेर्ना बिक्री गर्नुभएको थियो । करिब २५ रोपनी जमिनमा किबी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गर्नुभएको छ । एघार वर्षअघिदेखि किबी खेती सुरु गर्नुभएका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ । शेर्पाले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पुर्‍याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी रु. एक सयदेखि रु. एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ ।

किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउनुहुन्छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com